काठमाण्डौं । आम जनता पार्टीले दलाल दलतन्त्रविरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको सचिवालय बैठकले दलीय गणतन्त्रको भण्डाफोर गर्दै जनताको जन गणतन्त्र स्थापना गर्न देशव्यापी कमाण्ड तोकेको छ।
वर्तमान गणतन्त्र जनताको लागि नभई दलका नेता र तिनका आसेपासे झोलेहरूको लागि रहेको टिप्पनी गर्दै बैठकले यस्तो निर्णय गरेको हो। पार्टीले गणतन्त्र दिवसको सन्दर्भ पारेर ‘दलीय गणतन्त्रको भण्डाफोर गरौँ, जनगणतन्त्रको दिशामा अघि बढौँ’ भन्ने मुल नाराका साथ दलाल दलतन्त्रविरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्न लागेको आजपाका प्रवक्ता चन्द्र भुषण साहले आज जारी गरेको प्रेस विज्ञाप्तिमा उल्लेख छ।
भण्डाफोर अभियान सञ्चालनका लागि संघीय राजधानी काठमाडौंमा प्रभु साह, कोशी प्रदेशमा तिलक थापा मगर, मधेश प्रदेशमा चन्द्रभुषण साह, लुम्बिनी प्रदेशमा त्रिभुवन साह, गण्डकी प्रदेशमा ज्ञानेन्द्रकुमार तामाङ र सुदूरपश्चिम प्रदेशमा समिना हुसैनको नेतृत्वमा कमाण्ड तोकिएको छ। ‘पार्टीको केही महत्वपूर्ण विभागहरुलाई थप व्यवस्थित एवं फलदायी बनाउन संगठन विभाग प्रमुखमा त्रिभुवन साह, आर्थिक विभाग प्रमुखमा रञ्जु साह र शिक्षक विभागमा रविन्द्रप्रसाद सिंहलाई जिम्मेवारी तोकिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
बैठकले आन्दोलन र पार्टी संगठनलाई जनस्तरमा पुर्याउन संगठन निर्माण र सदस्यता वितरण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ भने कार्य सम्पादन मूल्यांकनको आधारमा लुम्बिनी प्रदेशबाट डा उषमान अलि, शम्भु जयसवाल, क भगत र विद्या शर्मालाई पार्टीको सचिवालय सदस्यमा मनोनीत समेत गरेको छ।