काठमाडौं। नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा विजयी सुरुआत गरेको छ। शनिबार सम्पन्न खेलमा नेपाल नौ विकेटले विजयी भएको हो। हङकङसँगको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो। दोस्रो खेल पनि वर्षका कारण पाँच ओभरमा छुट्टाइएको थियो। तर, नेपालले अन्तिम चार बल बाँकी रहँदा एक विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो।
बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४।२ ओभरमा भेट्टाएको हो। नेपालकी ओपनर कविता कुँवरले सर्वाधिक १८ रन बनाइन्। ११ बल खेलेकी उनले चार चौका प्रहार गरिन्। उनले पहिलो विकेटका लागि सम्झना खड्कासँग ३३ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पुर्याएकी थिइन्। तर, उनी ३।२ ओभरमा पवित्रा सेठ्ठीबाट रन आउट भइन्। सम्झना १३ र कप्तान इन्दु बर्मा सात रनमा अविजित रहिन्।
त्यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको बहराइनले पाँच ओभरमा एक विकेट गुमाउँदै ४१ रन बनाएको थियो। बहराइनकी कप्तान दीपिका रसांगिकाले सर्वाधिक ३४ रन बनाइन्। १३ बल खेलेकी उनले ६ चौका र एक छक्का प्रहार गरिन्। जैनेब फाजिल दुई रनमा आउट हुँदा थरंगा गजनायके तीन रनमा अविजित रहिन्। नेपालकी उपकप्तान पूजा महतोले सर्वाधिक एक विकेट लिइन्। उनले दुई ओभरमा १३ रन खर्चिइन्।