बर्दिया । बर्दियास्थित भारतसँग जोडिएका खुल्ला सिमा नाकामा विशेष निगरानी बढाइएको छ । भारतसँग जिल्लास्थित रहेको ८३ किलोमिटर खुला नाकाका मुख्य तथा सहायक नाकामा सुरक्षा निकायले निगरानी बढाएको हो । नेपालबाट भारततर्फ र भारततर्फबाट नेपालतर्फ आवागमन गर्ने नागरिकमाथि घुसपैठ नहोस् भनी सुरक्षा निकायले जाँच बढाएको छ । नाकाबाट आवागमन गर्ने नागरिकको परिचय खुल्ने कागज अध्ययन गरि छोडिएको छ ।
त्यसैगरी खुला नाकाबाट ओहोरदोहोर गर्ने नागरिकको दैनिक अभिलेख राख्ने काम सुरक्षा निकायले गरेको छ । मुख्य नाका मूर्तिहासहित १९ वटा सहायक नाकाका चेक प्वाइन्ट, गस्ती र पेट्रोलिङ बढाइ विषेश सुरक्षा सतर्कता र निगरानी बढाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणका गणपति मानबहादुर शाहीले बताए । ‘नेपालबाट भारततर्फ जाने नेपालीलाई परिचय खुल्ने कागज बोकेर जान सचेत गराइरहेका छौं,’ उनले भने,‘त्यसैगरी पारीबाट आउनेलाई परिचय खुल्ने कागजपत्र हेरेर मात्र छोड्ने गरेका छौं ।’
नाकामा पहिलाकोभन्दा दोब्बर सुरक्षाकर्मी परिचालन गरेर सतर्कता बढाइएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र काउन्टर पार्ट एसएसबिसहितको संयुक्त टोलीले सिमामा गस्ती पेट्रोलिङ गरि निगरानी बढाइएको गणपति शाहीले जनाए । जिल्ला सुरक्षा समितिको बैठक राखी सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले जानकारी दिए ।