काठमाडौं । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो। भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ।
मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए। भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए।
ुआन्तरिक सुरक्षातर्फ गर्नुपर्ने थप तयारी, समन्वय र सूचना आदान–प्रदानलगायतका विषयमा कुराकानी भएको छ प्रवक्ता तिवारीले भने, ुसीमानाकादेखि विमानस्थलसम्मको सुरक्षा व्यवस्थामा विशेष निगरानीसहित चुस्तदुरुस्त बनाउने, राष्ट्रिय तथा आन्तरिक सुरक्षा व्यवस्था सुनिश्चित तुल्याउने, सम्भावित चुनौतीको सामना गर्नेलगायत समसामयिक विषयमा बैठकमा छलफल भएको छ।