काठमाडौं । लामो कसरतपछि राजावादी शक्तिहरु अन्ततः एक ठाउँ आइपुगेका छन् । उनीहरुले भोलि संयुक्त साझा आन्दोलन कार्यक्रम घोषणा गर्ने तयारी छ । बेग्लाबेग्लै गरेका आन्दोलनहरु अपेक्षितरुपमा प्रभावकारी हुन नसकेपछि राजावादीहरु सहकार्यमा आउन बाध्य भएका हुन् । यसअघि जुँगाको लडाईंले गर्दा राजावादी नेताहरुले एक–अर्काको अस्तित्व स्वीकार्न सकिरहेका थिएनन् ।
साझा आन्दोलन गर्नुपर्नेमा सबै सहमत भए तापनि कसले नेतृत्व गर्ने भन्नेमा हानाथाप थियो । अहिले राजावादीलाई एक ठाउँमा ल्याउन ल्याउन निर्मल निवासले पनि भूमिका खेलेको बुझिएको छ । भोलिको आन्दोलन घोषणा नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गर्न लागेको हो । आन्दोलन घोषणा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सहभागी हुने तय भएको छ । लिङदेन पहिलोपटक सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको कार्यक्रममा जान लागेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे ।
‘भोलिको कार्यक्रममा अध्यक्षज्यू सहभागी बन्नुहुन्छ, साझा कार्यक्रमको खाका पनि तयार भइरहेको छ’, उनले नेपाल प्रेससँग भने । संयुक्त आन्दोलनमा आन्दोलनमा जाने भइसकेपछि राप्रपाले बेग्लै आन्दोलन गर्छ कि गर्दैन भन्ने प्रश्नमा श्रेष्ठले पछि छलफल हुने जवाफ दिए । राप्रपा अध्यक्ष लिङदेन यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गरेको कार्यक्रममा पनि अतिथिको रुपमा पुगेका थिए । यसअघि राप्रपा नेपाललाई खासै राजनीतिक मान्यता नदिएका लिङदेन कमल थापाको निम्तो माग्न पुग्नुले राप्रपाको रणनीतिक फेरबदललाई संकेत गरेको थियो ।
भोलिको कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली कांग्रेस ( वीपी ) का सुशीलमान शेरचन, शिव सेना नेपालका अनिल बस्नेतलगायतले पनि सहभागिता जनाउने छन् । संयुक्त आन्दोलनलाई ५० भन्दा बढी संघसंस्थाले समर्थन र ऐक्यवद्धता जनाउने दावी गरिएको छ ।