काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताको विषयमा कांग्रेस र एमालेको फरक मत देखिएको छ । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनले महेश श्रेष्ठको नेतृत्वमा सर्वसम्म्त कार्यसमिति चयन गरेको छ ।उक्त अधिवेशनमा डा. बद्रि केसी नेतृत्वको टिम सहभागी भएन ।
अधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री डा. आरजु राणाले गरेकी थिईन् । क्लोजिङ सेरोमनीमा भने विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पुगेका थिए । सो सम्मेलनलाई लिएर एमाले नेतृत्व पँक्ति भने असन्तुष्ट छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री डा. राणालाई समेत एकता अधिवेशनमा नजान भनेको कुरा बाहिरिएको छ ।
तर, राणाकै जोडबलमा महेश श्रेष्ठ अध्यक्ष बनेको चर्चा पनि छ । आज भने यो विषय संसद्मा प्रवेश गरेको छ । एमाले सांसद ठाकुर गैरेले बद्रि केसी नेतृत्वको एनआरएनए नै आधिकारिक भनेर सर्वोच्च अदालतले भनेको र उनको कार्यकाल सकिन लागेको बेलामा अर्को अधिवेशन गरेर नयाँ कार्यसमिति ल्याउँदा गैरआवासीय नेपाली संघ नै विभाजित बनेको भन्दै प्रश्न उठाए । तर, कांग्रेस सांसद दिपक गिरीले भने महेश श्रेष्ठ नेतृत्वको टिमलाई बधाई ज्ञापन गरे । उनले छुटेकाहरुलाई पनि समेट्न श्रेष्ठलाई आग्रह गरे । महेश श्रेष्ठको टिममा कांग्रेस र माओवादी समर्थित अभियन्ताहरु समेटिएको चर्चा छ ।