ललितपुर । ललितपुरमा गएराति मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा भयानक दुर्घटना भएको छ । ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार सातदोबाटोमा सडकमा रहेको पोलमा गाडी ठोक्किन पुगेको पाइएको छ । उनले दिएको जानकारी अनुसार अहिले उक्त क्षेत्रमा ११ हजार भोल्टको बिजुलीको तार रहेको हुँदा र पोल जोखिममा रहेका कारणले एकतर्फीमात्रै बाटो खुला गरिएको छ ।
कार दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने छन् । उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार विशालको अवस्था गम्भीर रहेको छ । उनको आईसीयूमा उपचार भइरहेको छ ।
ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार बा १५ च ७६५२ नम्बरको कार दुर्घटनामा परेको हो । कारलाई रुपक सापकोटाले चलाएका थिए । “मापसे गरेर गाडी चलाएको पाएका छौँ,” “घाइते तीन जनालाई अहिले बी एन्ड बी अस्पतालमा लगिएको छ ।”