नवलपरासी । हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय दुम्कीबासका ईन्सपेक्टर राजन तिमिल्सेनाले जानकारी दिए । गए रातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्णरूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत उनले आग्रह गरेका छन् ।
सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिए ।
वर्षाले कालीगण्डकी करिडोर अवरुद्ध
नवलपरासी । हिजो रातिदेखिको झरीले सडकमा पहिरो खसेर पहाडी कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–३ हिउँदे खोला नजिकै पहिरो खसेर आइतबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार कालीगण्डकी करिडोर अन्तर्गत उक्त खण्डमा लगातार लेदो माटो खसेकोले घटनास्थलमा प्रहरी नायब निरीक्षकको टोली पठाइएको छ । कालीगण्डकी करिडोर हुँदै ओहोरदोहोर गर्ने गाडी रोकिदिएको प्रहरीले जनाएको छ ।
यता महेन्द्रराजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको दाउन्नेमा राजमार्ग अवरुद्ध हुँदा साना गाडी यही कालीगण्डकी करिडोर हुँदै ओहोरदोहोर गर्छन् । गैंडाकोट हुँदै पूर्वी नवलवरासीको पहाडी भूभाग पाल्पाको रामपुर र पिपलडाँडा हुँदै यो राजमार्ग बुटवल स्याङ्जा सडकमा जोडिन्छ ।
कान्ति लोकपथ सडक अवरुद्ध
त्यसैगरी, गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६ः०० बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। प्रहरीले यात्रीलाई हेटौँडाबाट काठमाडौँ जान अन्य मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।