काठमाण्डौं । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले आगामी २०८४ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बनेर समाजवादी क्रान्तिको आधार तयार पार्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले इतिहासलाई पछाडि फर्काउन खोज्ने प्रतिगामी र यथास्थितिवादी शक्तिहरूलाई गतिलो जवाफ दिने बताए।
“हामीले सडक र सदनबाट खबरदारी गरिरहेका छौँ। आवश्यक परे ठूलो आन्दोलन गर्छौँ,” दाहालले भने। उनले सामाजिक सञ्जाल र जनतामाझ माओवादीको लोकप्रियता र सक्रियता बढेको उल्लेख गर्दै भने, “पाँच–सात महिनाअघि सामाजिक सञ्जालमा हाम्रो अवस्था कमजोर थियो, तर अहिले हामी एक नम्बरतिर उकालो लाग्दैछौँ। यसले जनमत आकर्षित गरेको छ।”
दाहालले कांग्रेस र एमालेसँग गठबन्धन नगरी २०८४ को निर्वाचनमा आफ्नै खुट्टामा उभिएर लड्ने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीका विभिन्न अभियान, सम्मेलन र जनसंगठनका गतिविधिले शक्ति सञ्चय भइरहेको र जनतामा आशा जागेको बताए। “हजारौँ शहीद, अपांग र घाइतेको बलिदानले प्राप्त संघीय गणतन्त्र र समावेशी उपलब्धिलाई जोगाउने जिम्मा हाम्रै हो,” उनले भने।
शान्ति प्रक्रियापछि जनवर्गीय संगठनहरूसँगको सम्बन्ध कमजोर हुँदा पार्टी कमजोर बनेको स्वीकार गर्दै दाहालले पछिल्लो समय सरकारको नेतृत्वमा रहँदा भ्रष्टाचारविरुद्ध अभियान, सुशासन र सामाजिक न्यायका मुद्दा उठाएर गणतन्त्रलाई बलियो बनाएको दाबी गरे। “हामीले जनतामा आशा जगाउने रेकर्ड बनायौँ। अब समाजवादी क्रान्तिको आधार तयार पार्न दिनरात खटिरहेको छु,” उनले भने।
उनले प्रतिगामी शक्तिहरूले राजसंस्था फर्काउने प्रपञ्च गरेको भन्दै काठमाडौंमा भएको राजावादी गतिविधिविरुद्ध माओवादी र समाजवादी मोर्चाले ठूलो धक्का दिएको उल्लेख गरे। “उनीहरूले फेरि वितण्डा मच्चाउन सक्छन्, तर हामीले त्यसलाई परास्त गर्छौँ,” दाहालले थपे। ‘मेरो मर्निङवाक पनि तपाईंहरुले हेरिराख्नु भएको छ,’ प्रचण्डले भने, ‘तपाईंहरुले पनि यसलाई मोडेल ठानेर फेरि एकपटक क्रान्तिका लागि आफ्नो जीवन समर्पन गरौँ। मलाई लाग्छ केही समयभत्रि देशको राजनीतिक रंगमञ्चलाई फेरि माओवादीमय बनाउन सकिन्छ।