काठमाण्डौं । नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले अहिलेको संविधानलाई आँखा चिम्लिएर समर्थन गर्न नसकिने बताएका छन्।शनिबार पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले पुँजीवादी संविधान भएकाले आँखा चिम्लिएर समर्थन गर्न नसकिने बताएका हुन्।
संविधानको धारा ३ मा हामीले एउटा महत्वपूर्ण कुरा राखेका छौं। संविधान पुँजीवादी संविधान हो । यो पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न सक्दै सक्दैनौँ । यसलाई हामी आलोचनात्मक रुपमा हेर्छौं, उनले भने। उनले वैज्ञानिक समाजवादले मात्रै नेपालमा अहिलेका समस्या समाधान गर्ने दाबी गरे।
सम्मानित नेता खनालले शुक्रबार सरकारले ल्याएको नीति र कार्यक्रममा नौटंकी मात्रै रहेको बताए। बोलिने कुरा मात्रै छन् त्यहाँ । तर गरिने कुराहरु बहुतै कम छन्, उनले भने। त्यसकारण बोलेकै गर्नका लागि एकीकृत समाजवादीले बहुमत ल्याउने प्रयत्न गर्नुपर्ने उनको धारण छ। हामीले बहुमत ल्याउने प्रयत्न पनि गर्नुपर्छ । त्यसो गरेर मात्रै समस्यालाई बिस्तारै बिस्तारै समाधान गरेर अघि बढाउनसक्छौं, उनले भने। बहुमत ल्याएको अवस्थामा जनताको हितमा नीति र कार्यक्रम ल्याएर लागु गर्न सकिने उनले बताए। ( न्युज एजेन्सी नेपाल )