नवलपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा गएका मन्त्रीहरू बाहेक अरू कसैले एमालेसँग सहकार्य गर्न आवश्यक नभएको बताएका छन् । नेपाल थारु संघ नवलपुरको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भोलिको प्रतिस्पर्धी एमाले नै हुन्छ भन्ने कुरा ख्याल गर्नुपर्ने बताए । सरकार बिरुद्ध निरन्तर खेदो खनीरहेका काँग्रेस नेता कोईरालाले एमालेसँग सहकार्य गर्नुको कुनै औचित्य नभएको स्पष्ट पारेका छन् ।
उनले भने, ‘प्रतिस्पर्धीसँग सहकार्य गरेर सङ्गठन बन्दैन । हामीले गलतलाई गलत भन्नुपर्छ । अनिमात्रै हामी अघि बढ्छौँ । कांग्रेस र एमालेले सरकार बाहिरको संयन्त्र बनाएको छ । कुनै पनि लोकतान्त्रिक मुलुकमा त्यस्ता संयन्त्रहरूले सरकारलाई चलाउन सक्दैन, पाउँदैन ।’ नेता कोइरालाले संयन्त्र बनाउन नहुने भन्दै जिल्लास्तरमा संयन्त्र बनाएको भए तोड्न निर्देशन दिए ।
उनले थपे, ‘प्रदेश, जिल्ला, पालिकामा पनि एमालेसँग संयन्त्र बनाउन हुँदैन । बाहिरबाट सरकार कम्युनिष्टहरुले मात्रै चलाउने हुन् । लोकतान्त्रिक पार्टीले त्यो स्वीकार गर्दैनौँ । सरकारभित्रबाट मन्त्रीहरूले संयन्त्र बनाए हामीलाई आपत्ति हुँदैन।’ नेता कोइरालाले सरकारले संविधान संशोधनबारे एक सिन्को नभाँचेको बताए । भ्रष्टाचार पनि बढिरहेको भए पनि मन्त्री र प्रधानमन्त्रीहरू नीतिगत निर्णय भनेर पन्छिएको उनको आरोप छ ।