काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ । सो नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने छन् । संघीय संसदको बैठक आज दिउँसो तीन बजे बोलाइएको छ ।
मन्त्रिपरिषद बैठकमा शिक्षक, चिकित्सक लगायतसँग भएको सहमति र अन्य मन्त्रालयगत नियमित एजेण्डामा पनि छलफल हुने बताइएको छ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनलाई आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ ।
उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते राज्यमन्त्री नियुक्त गरेका थिए । यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङ ( कान्छाराम ) लाई राज्यमन्त्रीबाट बर्खास्त गरेपछि रिक्त पदमा गर्बुजा नियुक्त भएका हुन् । गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुन् । उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।