काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण तथा परीक्षा सञ्चालन नसघाउन आन्दोलनरत शिक्षकहरूलाई अपिल गरेको छ । आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले देशभरका शिक्षकहरू आन्दोलन गरिरहेका छन् । २० चैतदेखि काठमाडौंकेन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले सरकारले माग पूरा नगरे एसईई परीक्षाको उत्तरपुस्तिका जाँच नगर्ने जनाएका छन् ।
यसबाट परीक्षा दिएर बसेका लाखौं विद्यार्थी प्रभावित हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरूलाई उत्तरपुस्तिका परीक्षणमा सघाउन आग्रह गरेको हो । बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उत्तरपुस्तिका परीक्षण तथा परीक्षा संचालन व्यवस्थापनमा शिक्षकहरूकै अहम् भूमिका रहन्छ ।
परीक्षाको उत्तरपुस्तिका परीक्षणमा हुने ढिलाइले विद्यार्थीले नतिजा प्राप्ति पछि पाउने अवसरमा प्रत्यक्ष असर पार्ने संवेदनशील पक्षमा प्रवुद्ध शिक्षकवर्ग जानकार नै हुनुहुन्छ ।’ बोर्डले विगत समयदेखि शिक्षकहरूले नै विद्यार्थीको दक्षता र सिकाइ उपलब्धि परीक्षणको गहन जिम्मेवारी सम्हाल्दै आएको चर्चासमेत गरेको छ ।