काठमाण्डौं । प्रतिक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ–कहाँ पुर्याउँछ ,कहिले हसाउँछ, कहिले रुवाउँछ, आँशु र हाँसोको संगम पनि गराउँछ।।
दिपक खरेलको यो गित आज दुर्गा प्रसाईको जिवनमा साह्रै मेल खाएको छ । कहिले प्रचण्ड र केपी ओलीलाई मार्सी भात खुवाएर फाईदा लिने, कहिले बैकको ब्याज मिनाहाका लागि सयौ जनतालाई सडकमा उतार्ने प्रसाई आज भने एक्लै प्रहरीको भ्यानभित्र हतकडी सहित गुमनाम बने । गत चैत्र १५ गते राजधानीमा भएको राजावादीहरुको हिंसात्मक आन्दोलनका जनकमाण्डर उनि आज भारतवाट पक्राउ परी काकडभिट्टा हुदै काठमाण्डौ ल्याईएका छन् ।
हिंसात्मक आन्दोलन भड्काएर प्रहरीको घेरा तोडी भाग्न सफल भएका प्रसाईलाई १३ दिनपछि भारतको आसाममा पक्राउ परेका उनलाई झापावाट बुद्ध एअरको जहाज मार्फत काठमाण्डौ ल्याईएको हो । झापामा जहाज चढ्नु अघि दुबै हातमा हतकडी लगाएका उनी जहाजमा चढेपछि हतकडी खोलेसँगै युद्ध जितेको सिपाही जस्तै हात हल्लाउँदै रमाईरहेका थिए । तर जव उनलाई काठमाण्डौ पुर्याईयो,तब भने प्रहरीले सुटुक्कै लगेर गयो अदालततिर ।
भनिन्छ,समय कसैको बसमा हुदैन, हो त्यस्तै भयो प्रसाईको हकमा पनि । गत फागुन २५ गते यही बिमानस्थलमा हजारौको जुलुस निकालेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गरेर उनको मन जित्न सफल बनेका प्रसाई छोटै समयमा पूर्व राजाको प्रियपात्र बन्न सफल भए । त्यती मात्रै कहाँ हो र संयुक्त जनआन्दोलन परिचालन कमिटिका नाममा पूर्व राजाले बयोबृद्ध राप्रपा नेता नवराज सुवेदीलाई आन्दोलनको संयोजक तोक । तर अर्कोदिन बिहानै पूर्वराजासँगको भेटघाट पश्चात ब्यवसायी दुर्गा प्रसाई जनकमाण्डरको जिम्मेवारी आफ्नो हातमा लिन सफल भए ।
तर परिणाम उनले सोचे जस्तो भएन १५ गतेको आन्दोलनमा करोडौको धनजनको क्षती, दर्जनौ घाईते र दुई जनाको ज्यान समेत गयो । सोही क्रममा राप्रपा महामन्त्री धवलशमसेर राणा र रबिन्द्र मिरु पक्राउ परे । तर आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाई भने प्रहरीको घेरा तोडी भाग्न सफल भए ।
तर उनले ढाट्ने र ठूला कुरा गर्न भने यसबिचमा कहिल्यै छोडेनन् । भन्थे म भागेको छैन ? नेपालमै छु ? मेरो ज्यानको सुरक्षाको ग्यारेन्टी दिने भए प्रहरीसामू आफै उपस्थित हुन्छु । यस्तो भन्दै उनले नेपाल प्रहरीलाई करीव २ हप्ता भुःल्याए । तर नेपाल प्रहरी पनि के कम उनको खोजी जारी गरिराख्यो ? अन्तत भारतमा उनलाई पक्राउ गरियो ।
हिजो राजाका लागि हजारौ जनता सडकमा उतार्ने प्रसाई पक्राउ पर्दा आज उनि एक्लो थिए केवल एक्लो । साथमा थिए त नेपाल प्रहरीका हाकीखहरु । त्यसैले त फेरी पनि मानसपटलमा गुञ्जियो,त्यही दिपक खरेलको गित ,प्रतिक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ–कहाँ पुर्याउँछ ,कहिले हसाउँछ, कहिले रुवाउँछ, आँशु र हाँसोको संगम पनि गराउँछ ।।