काठमाडौं । राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई भारतको आसाम राज्यबाट पक्राउ गरी नेपाल ल्याइएको छ । उनलाई काँकडभिट्टा नाकाबाट झापा ल्याइएको हो । उनलाई मेची पुल क्षेत्रबाट विशेष सुरक्षा व्यवस्थासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए ।
प्रसाईंलाई शुक्रबार नै विमानमार्फत झापाबाट काठमाडौं ल्याइने तयारी गरिएको छ । प्रसाईँलाई आजै ११ः३० बजे बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइँदै छ । उनीसँगै उनका बडीगार्ड दिपक खड्का पनि पक्राउ परेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले बताए । उनलाई पनि काठमाडौं ल्याउने तयारी छ । पक्राउको नेतृत्व नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको हो ।
प्रसाईं १५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य कमाण्डर थिए । उक्त आन्दोलन हिंसात्मक बनेपछि दुई जनाको ज्यान गएको थियो । सो घटनापछि फरार भएका उनी भारततर्फ भागेका थिए । अब उनलाई काठमाडौं ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।दुर्गा प्रसाईँलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
केन्द्रीय प्रहरी विशेष ब्युरोबाट खटिएको टोलीले उनलाई झापाको चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याउन लागेको हो ।
प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । तीनकुने प्रदर्शनका बेला उनले प्रहरी अधिकारीहरुलाई नै किच्याउने गरी गाडी समेत हाँकेका थिए ।