काठमाडौं । काठमाडौंमा हिंसा मच्चाएर फरार राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भारतीय प्रहरीको नियन्त्रणमा रहेको दाबी गरिएको छ। एक सातादेखि भारतको आसाममा तन्ना र चटपटे बेच्दै प्रसाईंको खोजी गरिरहेका नेपाली सुरक्षाकर्मीले फेला पारेपछि भारतीय प्रहरीले उनलाई बिहीबार आसामबाट नियन्त्रणमा लिएको दाबी गरिएको हो। भारतीय प्रहरीले नेपाल–भारत सीमामा ल्याएर छाडेपछि नेपाल प्रहरीले उनलाई पक्राउ गर्ने बताइएको छ।
तर नेपाल प्रहरीले भने प्रसाईं पक्राउ नपरेको बताएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार राति एक विज्ञप्ति जारी गरेर ‘दुर्गा प्रसाईं पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै भनेको छ, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म उनी पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्छौं।’
तर प्रहरीकै एक उच्च स्रोतले भने प्रसाई पक्राउ परेको दाबी गरेको हो । ‘दुर्गा प्रसाईंको खोजीमा गएको नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेको थियो। भारतीय प्रहरीकै सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने।
प्रसाईं भारतीय प्रहरीको नियन्त्रणमा परेपछि गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, विशेष ब्युरो प्रमुख डिआइजी सिद्धिविक्रम शाहबिच आकस्मिक बैठक बसेको बताइएको छ।
प्रसाईंको खोजीमा गएको विशेष ब्युरोको टोलीमा रहेकाहरू चटपटे र तन्ना बेचेर बसिरहेका थिए। साथै केही सुरक्षाकर्मी मन्दिरमा साधुको भेषमा थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०, विशेष ब्युरो, उपत्यका अपराध महाशाखाको टोली भारतका विभिन्न भागमा खटिएका थिए।
‘दुर्गा प्रसाईंको पहिचान चैत २७ मा भएको थियो तर विविध कारणले भारतीय प्रहरीको पहुँच पुगेन। दोस्रो दिन मात्रै भारतीय प्रहरीले घेरा हालेर नेपाल–भारत सीमा क्षेत्रमा पठाएको हो,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने। तर प्रसाईंको सचिवालयले आफैं आत्मसर्मपण गरेको जनाएको छ। ‘अहिले दुई घण्टाअगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षाका लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ। हिजो ९बुधबार० मात्र हामीले भिडियोमार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं भनेका थियौं र आज उपस्थित भयौं १ ९दुर्गा प्रसाईं० जय देश जय रास्ट्रवाद,’ उनको सचिवालयले बिहीबार साँझ उल्लेख गरेको छ।
प्रसाईंको परिवारले पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ। परिवारका ती सदस्यले प्रहरीले पक्राउ गरेको नभई सुरक्षाका लागि आफैं आसाम प्रहरीको सम्पर्कमा पुगेको दाबी गरेको छ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि दुई जनाको ज्यान गएको थियो। त्यसक्रममा व्यापक तोडफोड, आगजनी र लुटपाट भएको थियो । सुरक्षाकर्मीहरूलाई गाडी लिएर किच्न खोजेका प्रसाईं त्यही दिन फरार भएका थिए। फरार रहेकै अवस्थामा प्रसाईंले बुधबार मात्रै आफ्नो जीवनरक्षाको सुनिश्चित भए प्रहरीसमक्ष उपस्थित हुने बताएका थिए।
सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चितता भए २४ घण्टाभित्र प्रहरीसमक्ष उपस्थित हुने जनााएका थिए। तर उनले आफू नेपाल रहेर भनेर ढाट्दै आएको स्पष्ट भएको छ।
यस्तो छ विज्ञप्तिको पूर्ण पाठ–
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाको लागि आह्वान
चैत्र २८, २०८१
राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाऔं महाअभियानका संयोजक दुर्गा प्रसाईंले भारतीय प्रहरी समक्ष आफ्नो ज्यानको सुरक्षा सहित नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेपछि इण्डियाको आसामको गुवाहाटीबाट नेपालको सीमासम्म ल्याईपुर्याउने कार्यमा भारतीय प्रहरीले सहयोग गरेकोमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन समिति धन्यबाद ज्ञापन गर्दछ।
उहाँले आत्मसमर्पण गर्नु भएको होइन, नेपालसम्म सुरक्षित पुर्याइदिन आफैँ अनुरोध गर्नु भएको हो । सरकारले काठमाडौंको तीनकुनेको शान्तिपूर्ण कार्यक्रमबाट आफै लखेटेर फरार रहेको बताइरहेको अवस्थामा नेपाल फर्कँदै गर्दा नेपाल प्रहरीले उहाँ नेपाल फर्कीरहेको आफूहरुलाई जानकारी नरहेको प्रतिक्रिया दिएको अवस्थामा उहाँको नेपाल प्रवेशसँगै ज्यान खतरामा रहेको र बेपत्ता समेत पारिन सक्ने स्थिति भएको हुँदा राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्था, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरुलाई उपस्थित भई उहाँको ज्यानको सुरक्षाको प्रत्याभूतिका लागि भूमिका निर्वाह गरिदिनु हुन हामी अपिल गर्दछौं ।
उहाँ क्यान्सरको बिरामी र अदालतको तारिकमा समेत रहेको हुँदा उहाँलाई सुरक्षित रुपमा अस्तालसम्म पुर्याउन र अदालतसम्म हाजिर हुनका लागि समेत सहयोग गर्न हामी राष्ट्रिय मानव अधिकार आयोग र सरकार समक्ष समेत अनुरोध गर्दछौं ।
स्वागत नेपाल
प्रवक्ता,
संयुक्त जनआन्दोलन परिचालन समिति