काठमाडौँ । काठमाण्डौ केन्द्रित आन्दोलन गरीरहेका शिक्षकहरू र शिक्षा मन्त्रालयबिचको छलफल टुङ्गिएको छ । बिहीबार शिक्षा मन्त्रालयमा दुवै पक्षबीच छलफल भए पनि कुनै ठोस सहमति भने हुन सकेन ।
बिहीबार महासंघका तर्फबाट शिक्षामन्त्री विद्या भट्टराईलाई वार्ताको वातावरण बनाउन र विगतका सहमति कार्यान्वयनबारे सरकारको प्रस्ट धारणा आउनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाइएको छ । महासंघका सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा महासचिव तुलाबहादुर थापा, उपमहासचिव अर्थ मदनराज जोशी र नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावल रहेका थिए ।
प्रतिनिधिमण्डलले पुराना सहमति र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूचीसमेत बुझाएको छ । छलफलमा शिक्षामन्त्री भट्टराई, शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेसहित ४ जना सहभागी थिए । शिक्षक महासंघका अध्यक्ष लक्ष्मणकिशोर सुवेदीले आफूहरूले एजेन्डा बुझाउन मात्र गएको बताए ।
शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले आजको छलफलमा कुनै ठोस सहमति नभएको बताए । दुवै पक्ष आन्तरिक छलफलपछि वार्ता हुने उनको दाबी छ । शिक्षामन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पनि शिक्षा ऐन जारी गर्ने विषयमा तदारुकता नदेखाएको जनाइएको छ ।