काठमाडौँ । देशभरका कानून ब्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले न्यायपालिकामा रहेका विकृति र विसंगति हटाउन आफुले कुनै कसर बाँकी नराख्ने बताएका छन् । मिश्रले आफ्नो कार्यकालमा बारले न्यायपालिकालाई स्वच्छ बनाउन भूमिका खेल्नुपर्ने र त्यसका लागि बारको नवनिर्वाचित कार्यसमितिले कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल बार एसोसिएसनका लागि भएको निर्वाचनको बिहीबार मात्रै मतपरिणाम घोषणा भएको हो । जसअनुसार सत्तारुढ एमाले र कांग्रेस निकट कानुन व्यवसायीका संगठनहरूका साझा उम्मेदवार मिश्रले ५ हजार ५२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेका थिए ।
नेपाल बारका सातवटा उपाध्यक्षमा मिश्र प्यानलकै उम्मेदवार विजयी बनेका छन् । कोशीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा उपाध्यक्षमा निर्वाचित भए । महासचिवमा मिश्र प्यानलकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला निर्वाचित हुँदा कोषाध्यक्षमा पनि मिश्र प्यानलकै वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की निर्वाचित भए ।
अध्यक्षमा निर्वाचित मिश्रले चुनावमा अगाडि सारेका एजेन्डा कार्यान्वयन गर्ने बताएका छन् । नेपाल बारमा मैले धेरै काम गर्नुपर्ने छ । बोलेर हैन काम गरेर देखाउनको लागि हाम्रो टिम नै लागिपर्ने छौँ,’ उनले भने, संविधान संशोधन, न्यायपालिकाको सुधार, न्यायपरिषद् संरचनाको सुधार, न्यायपरिषद्को कार्यपद्धतिमा सुधार हाम्रो योजना रहेको छ । न्यायपालिकामा रहेका विकृति, विसंगति हटाउनको आवश्यक कार्य गर्नेछौं । न्यायपालिकामा देखिएका समस्या सुधार गर्नको लागि हामी लाग्नेछौँ ।