काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा गठबन्धन सरकारका वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र विजयी भएका छन् । उनले ५ हजार ५२ मत प्राप्त गर्दै बारको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेका थिए । लगभग दोब्बर मतले एमाले–काँग्रेस गठबन्धन नेपाल बारमा निर्वाचित भएको छ ।
सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठनले गठबन्धन गरी नेपाल बारमा अध्यक्षमा मिश्रलाई अगाडि सारेका थिए प्रतिपक्षी माओवादी र रास्वपालगायतका कानुन व्यवसायीका संगठनले भने श्रेष्ठको नेतृत्वमा प्यानल बनाएका थिए । बारको केन्द्रीय समितिमा मिश्रको प्यानल नै विजयी भएको हो ।
अध्यक्षमा निर्वाचित मिश्रले चुनावमा अगाडि सारेका एजेन्डा कार्यान्वयन गर्ने बताएका छन् । उनले भने, नेपाल बारमा मैले धेरै काम गर्नुपर्ने छ । बोलेर हैन काम गरेर देखाउनको लागि हाम्रो टीम नै लागिपर्ने छौँ ।’ महासचिवमा पनि कांग्रेस एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत पाए । अन्य सबै पदाधिकारीमा कांग्रेस(एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।
कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ विजयी भएको निर्वाचन समितिले जनाएको छ ।