काठमाडौं। भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु भएको छ । भक्तपुर नगरबासीले विहानै दत्तात्रयबाट र्याली सुरु गरेर जात्राको विधिवत सुरु गरेका हुन् । प्रसिद्ध पाँचतले मन्दिर टौमढी अगाडि भैरवनाथको रथ आज दिउँसो तान्ने चलन रहेको छ । नयाँ वर्ष आगमनको तीन दिन अगाडि यो वर्ष चैत २८ गते विहिबारदेखि प्यागोडा शैलीमा बनाइएको तीनतल्ले काठको ३० फिट अग्लो भैरवनाथको रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । रथको दुईतीर मोटोमोटो डोरी राखेर हजारौं युवाले रथ तान्ने गर्दछन् ।
आज जात्राको पहिलो दिन नेपाल भाषामा द्यो क्वह विज्याइज्यू अर्थात देवता रथ तल सवारी हुने भनिन्छ । जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लाने भएकोले सो साइटमा ६ वटा र अर्को साइटमा चार वटा मात्रै डोरी राखिने गरिन्छ । तर दुवैतिर प्रतिस्पर्धात्मक रुपमा तानेर पछिल्लो वर्ष जता पनि लैजान गर्दछन् ।
जात्रालाई हर्षोलासमय रुपमा मनाउन गुठी संस्थान र भक्तपुर नगरपालिकाले सबैमा अनुरोध गरेको छ । जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत देशका विभिन्न भागबाट हजारौं मानिसहरु भक्तपुर आउने गर्दछन् । भैरवनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँचतल्ले मन्दिर अगाडि नै रहेको भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ ।
विस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ । जात्राको चौथो दिन ल्योसिङख्योमा तान्त्रिक रुपमा ५५ हाते लिङ्गो उभ्याएर वीरध्वज र विश्वध्वज झुण्डयाउने परम्परा रहेको छ । तान्त्रिकपूजा गरेर तलेजुमा दुमाजु, बाराहीको तिंप्वा जात्रा र खौमाको इन्द्रयाणी देवीको जात्रा समेत गर्ने परम्पररा छ । बिस्केट जात्रालाई स्थानीय भाषामा बिस्का भनिने चलन छ । नगरको केन्द्र भाग पाँचतले मन्दिर प्रांगण अहिले मानिसको भिडभाड बढेको छ ।