काठमाडौं । बिहीबार सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि भएको छ । अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढ्यो । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो ।
सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँ पुग्यो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेसँगै सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा एकैदिन सुनको भाउ ४ प्रतिशतभन्दा धेरै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३१०० डलर नाघेको छ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु पाँच हजार ७०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला रु एक लाख ८१ हजार १०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । साथै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रु एक हजार ८३५ रहेको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार ९०० पुगेको छ ।