काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार खर्च सरकारले ब्यहोर्ने बताएका छन् । आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज ९बुधबार० सिभिल अस्पताल पुगेका मन्त्री लेखकले घाइतेहरुको निःशुल्क उपचार गरिने बताएका हुन् ।
मन्त्री लेखकले घाइतेहरुले निःशुल्क उपचार पाएका छ वा छैनन् भनेर अनुगमनका लागि पनि आफू अस्पताल आएको बताए । उपचार गर्दा लागेको खर्चको विल अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जानेर उतैबाट भुक्तानी हुने मन्त्री लेखकले बताए । साथै, गृहमन्त्री लेखकले घाइतेका परिवारले उपचारमा खर्च गरेको भएपनि अस्पतालले बिल भौचर प्रमाणित गरेर पठाएको अवस्थामा उनीहरुले भुक्तानी पाउने बताए । सो घटनामा प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए ।
घाइते रेविका प्रदर्शनमा सहभागी नभएको सर्वसाधारण हुन् । उनी कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी हुन् । आफ्नो घर फर्किँदै गरेको अवस्थामा प्रहरीले गोली प्रहार गरेको थियो । तीनकुने क्षेत्रमा गरेको प्रर्दशनपछि भएको झडपमा दुई जनाको मृत्यु भएको थियो। अहिले उपत्यकाका विभिन्न अस्पतालमा गरी पाँच जना घाइते उपचाररत छन्।