अछाम । बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट रु सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गर्नुभएको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।
अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट रु सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरुबाट क्षतिको विवरण यथाशीघ्र सङ्कलन गरिने राससलाई बताए । मंगलसेन नगरपालिकाको दमकल, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । जिल्लामा एक मात्र दमकल हुनु, बजारको साँघुरो बाटो, पानीको अभावका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको थियो ।
डीएसपी भण्डारीका अनुसार लामो समयसम्म आगलागी नियन्त्रण नभएपछि आक्रोशित भएका युवाहरूले बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदको घरमा ढुङ्गामुडा प्रहार गर्नुका साथै उनी माथि आक्रमण समेत गरेका थिए । रासस