काठमाण्डौं । हङकङमा जारी चारदेशीय टी–२० सिरिजको उद्घाटन खेलमा कतारले जितका लागि नेपाललाई १५२ रनको लक्ष्य दिएको छ। नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
हङकङको मिसन ग्राउन्ड रोड मङ कोकमा जारी खेलमा नेपालले टस जितेर बलिङ रोजेको थियो। निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै कतारले १५१ रन जोडेको हो।
बुधबारदेखि सुरु भएको खेलमा नेपालसहित हङकङ, कतार र कुवेत छन्। नेपालले सिरिजको दोस्रो खेल चैत २८ गते कुवेतसँग र चैत ३० गते हङकङसँग खेल्नेछ। चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ। बलिङमा नेपालका सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी र गुल्सन झाले एकएक विकेट लिए । नन्दनले टी– २० आईमा डेब्यु विकेट लिएका हुन् ।
चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत समावेश छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।