काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ( बालेन ) ले बल्खुमा आमसभापश्चात आफैंले सरसफाइ गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धन्यवाद दिएका छन् । बालेनले सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्थाले कार्यक्रमको नाममा फोहोर नगरोस् भन्ने महानगरले चाहना रहेको समेत बताएका छन् । उनले ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने’ भनेर महानगर नबसेको पनि बताएका छन् ।
राप्रपाले यसअघि काठमाडौंमा गरेको प्रदर्शनमा महानगरले एक लाख रुपैयाँ जरिवाना गरेको थियो । त्यस्तै, गत चैत १५ गते राजावादी समूहरुले तीनकुनेमा गरेको प्रदर्शनमा महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नामा विभिन्न ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिवाना गरेको थियो । एमालेले काठमाडौंमा गरेको प्रदर्शनमा समेत महानगरले एक लाख जरिवाना तोकेको थियो ।
राप्रपाले यसअघि महानगरले तोकेको जरिवाना तिरे पनि पूर्वराजा ज्ञानेनद्र र एमालेलाई काटिएको जरिवाना अलपत्र अवस्थामा छ । ‘सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ,’– राप्रपालाई धन्यवाद दिँदै बालेनले भनेका छन् ।