काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले काठमाडौंको बल्खुमा प्रदर्शन गरीरहेको छ । संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग राख्दै राप्रपाले खवरदारी सभा गरेको हो । आमसभाका लागि नेता कार्यकर्ता, समर्थकहरू जम्मा भएका छन् । उनीहरू विभिन्न ब्यानर र नाराअंकित प्लेकार्ड बोकेर कार्यक्रम स्थल पुगेका छन् ।
बल्खु चोकमा हुने आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेन लगायत पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बागमती प्रदेशस्तरीय वृहत् प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठका लागि राप्रपाले आफ्नो संयन्त्र र स्वयंसेवक परिचालन भइसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बल्खु पुग्दा गणतन्त्रविरोधी नारा लगाइएको थियो । प्रदर्शनका लागि राप्रपाका नेता तथा कार्यकर्ताहरू भेला भइरहेका छन् । राप्रपाले कार्यक्रम भृकुटीमण्डपमा गर्ने भनेको थियो ।
यसअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको तीनकुनेको राजवादी समर्थकको प्रदर्शन हिंसात्मक बनेपछि आज सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । तर, काठमाडौं जिल्ला प्रशासनले राप्रपालाई आमसभाका लागि बल्खु क्षेत्र तोकिदिएको थियो । राप्रपाको सभाअघि नै बल्खु क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।