काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आज बल्खुमा प्रदर्शन र आमसभा गर्दै छ। सुरुमा भृकुटीमण्डपमा गर्ने भनिएको प्रदर्शन स्थानीय प्रशासनले अनुमति नदिएपछि राप्रपाले बल्खुमा गर्न लागेको हो। प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्ता मोहन श्रेष्ठलेले आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी रहेको बताएका छन्।
‘चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुने छ,’ श्रेष्ठले भने, ‘प्रशासन सुरक्षाको कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो।’ प्रदर्शनलाई सफल बनाउने पूर्व तयारीका लागि हिजो केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसमितिको बैठक पनि बसेको थियो। बैठकले प्रदर्शन र आमसभालाई सभ्य बनाउने निर्णय गरेको थियो।
दुर्गा प्रसाईं नेतृत्वमा गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आजको प्रदर्शन अनुशाषित बनाउन विशेष जोड दिइने बताइएको छ। यस्तै सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने भएका छन्। सभास्थल वरपर दुई हजार संख्यामा प्रहरी खटाइने छ भने सीसीटीभी र ड्रोनबाट समेत निगरानी गर्ने तयारी छ। प्रदर्शन अवधिलाई मध्यनजर गर्दै सवारी साधनलाई डाइभर्सनको व्यवस्था पनि मिलाइएको ट्राफिक प्रहरीले बताएको छ।
जस अनुसार खसिबजार–मकालु–कलंकी चोक–बाफलमा डाइभर्सको एउटा रुट तय गरिएको छ। त्यस्तै, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा पनि डाइभर्सन गरिने बताइएको छ। कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ।आवश्यक परेको खण्डमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सितापाईला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले बताएको छ।