काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । सोमबार विज्ञप्ति जारी गरी माओवादी केन्द्रले नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलित शिक्षकहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको हो ।
उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले देशको समग्र विकासमा शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै गुणात्मक सुधारको लागि पेशागत सुरक्षा र उत्प्रेणामूलक वातावरण आवश्यक भएको बताएका छन् । संविधानमा उल्लेख भए पनि संघीयताको मर्मअनुसार शिक्षा क्षेत्रको पुनर्संरचना हुन कानुनी तथा नीतिगत संरचना आवश्यक भएको विज्ञप्तिमा उल्लेख छ । साथै, निजामती, स्वास्थ्य, प्रहरीलगायतका ऐनहरू जारी भइसकेको अवस्थामा विद्यालय शिक्षा ऐन जारी नभएकोमा माओवादीले आपत्ति जनाएको छ ।
सापकोटाले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शिक्षासम्बन्धी विधेयक संसदमा दर्ता गरिसकेको र त्यस क्रममा नेपाल शिक्षक महासंघसँग ५ बुँदे र ६ बुँदे सहमति भएको स्मरण गराएका छन् । तर, कांग्रेस–एमाले गठबन्धन सरकार आएपछि उक्त विधेयक पारित गर्न ढिलाइ हुनु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।