काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले भोलिको आमसभा बल्खुमा गर्ने भएको छ । प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि बल्खुमा गर्ने भएको हो । प्रशासनले बल्खु वा सिफलमा आमसभा गर्न भनेको थियो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।
सभा सुरु हुनुअघि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालिने छ । ती जुलुस सभामा परिणत हुने राप्रपाले जनाएको छ । प्रदर्शन र सभालाई शान्तिपूर्ण बनाउने तयारी राप्रपाको छ । यसअघि चैत १५ गते राप्रपाको समेत समर्थन र सहभागितामा संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि भन्दै काठमाडौंको तीनकुनेमा आयोजना गरिएको सभा हिंसात्मक भएको थियो । दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शनमा २ जनाको मृत्यु भएको छ भने अर्बौंको भौतिक क्षति पुगेको अनुमान छ ।
लगत्तै बसेको राप्रपाको बैठकले हिंसा भड्किनुको दोष सरकारलाई लगाएको थियो । तर हिंसा भड्काएको भन्दै प्रहरीले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतलाई पक्राउ गरेको छ । राप्रपाले चैत २६ गते मंगलबार गर्न लागेको सभालाई राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जनमान गुरुङले समेत समर्थन जनाएका छन् ।