काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा र समृद्धिका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको छ। हरेक वर्ष चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैंदेखि आर्यावलोकितेश्वरका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आयोजना गरिन्छ। काठमाण्डौ उपत्यकाको सबैभन्दा लामो पर्व सेतो मत्स्येन्द्रनाथको रथयात्रा शुरु भएको हो ।
आजबाट मत्स्येन्द्र बहालदेखि शुरु भएको रथयात्रा तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुगेको छ । सेतो मत्स्येन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । काठमाडौं उपत्यकाका बासिन्दालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ ।
सेतो मत्स्येन्द्रनाथको रथ मत्स्येन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म लगिन्छ । अन्तिम दिन लगनटोलस्थित मत्स्येन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराउने प्रचलन छ । त्यसपछि रथयात्रा सम्पन्न हुन्छ ।