कास्की । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११ देउराली स्थित चुम्रुङमाको हिम पहिरोमा बेपत्ता भएका चिनीय नागरिकको शव सशस्त्र प्रहरीले चैत्र २३ गते फेला पारेको छ ।
अन्नपूर्ण वेशक्याम्पबाट घान्द्रुकतर्फ आउँदै गरेका चिनीया नागरिक वर्ष २८ का ई चेङ्गयुङ यही चैत्र ११ गते सम्पर्क बिहिन भएका थिए । सो लगत्तै उनको खोजीकार्यमा परिचालित सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थानसहितको सुरक्षा फौजले उनको शव चैत्र २३ गते दिउँसो साढे १२ बजे फेला पारेको हो ।
अन्नपूर्ण आधार शिविर(एविसी) को पदयात्रा सकेर घान्द्रुकतर्फ फर्कने क्रममा पर्यटक बेपत्ता भएपछि उनको खोजीमा प्रहरी टोली खटिएको थियो । प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार उनको शव पोखरा ल्याउने तयारी भइरहेको छ ।
त्यसैगरी तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–१ बरादीस्थित मस्र्याङ्दी नदिमा चैत्र २२ गते बेपत्ता भएका युवकको खोजीकार्य भईरहेको छ । सोही जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बस्ने अन्दाजी २० वर्षिय आशिष राना सो नदिमा डुवेर बेपत्ता भएको बताईएको छ ।
बेपत्ता आशिष रानाको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर नं. २३ मनकामना गण तनहँुबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षा फौज परिचालन भएको सशस्त्र प्रहरीका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।