भैरहवा । काठमाडौंमा पक्राउ परेका रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले भैरहवा पुर्याएको छ । प्रहरीले लामिछानेलाई भर्खरै भैरहवा विमानस्थलबाट सिधै जिल्ला प्रहरी कार्यालय रुपन्देही लगेको छ ।
सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई शुक्रबार राति काठमाडौँबाट पक्राउ गरी आज बिहान यति एयरलाइन्सको विमानमा भैरहवा लगेको हो ।
शनिबार र आइतबार लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने छ । शनिबार र आइतबार सार्वजनिक बिदा परेको छ । त्यसैले पहिला अदालत पेस गर्नुपर्ने हुन्छ, त्यसपछि मात्रै कारागार पठाउने हो, त्यसैले रवि‘अब दुई दिन प्रहरी हिरासतमै बस्नेछन् । सोमबार अदालत खुलेपछि लामिछानेलाई पेस गरिने र त्यसपछि मात्रै उनलाई कारागार चलान गरिने छ ।
सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं। १ मा राखिएको छ । छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ ।
स्रोतका अनुसार सोमबारदेखि रवि र छविलाई एउटै ब्लकमा राख्ने गरी तयारी भइरहेको छ । दुवै ब्लकमा एकै प्रकारको सुविधा भएपनि ब्लक नं। २ तुलनात्मक रूपमा केही फराकिलो छ । गर्मीको समयमा अलि बढी हावा चल्ने र भित्रको स्पेस पनि केही खुल्ला भएकाले रवि र छविलाई एकै ब्लकमा राख्ने सम्भावना छ ।