काठमाडौं । गए राती घरवाटै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ ।शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो ।
शुक्रबार राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट निकालेर त्रिभुवन विमानस्थल पुर्याइएको छ । उनलाई विमानबाट भैरहवा लिन लागिएको छ ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई मंगलबार मात्र लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।