काठमाडौं। तीनकुनेको हिंसात्मक प्रदर्शनको निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज प्रदर्शन गरेको छ । राप्रपा काठमाडौंको आयोजनामा भएको आजको प्रदर्शनमा वरिष्ठ नेताद्वय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनीलागतका नेताहरु सहभागी थिए ।
तीनकुनेको हिंसात्मक घटनामा जोडेर वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेको भन्दै उनीहरुले आपत्ति जनाए । नेताद्वय मिश्र र राणालगायत झुठा मुद्दा लगाइएकालाई निशर्त र सम्मानपूर्वक रिहाइको उनीहरुले माग गरेका छन् ।
उनीहरुले ‘झुठा मुद्दा खारेज गर, निष्पक्ष न्यायिक आयोग गठन गर, राज्य आतङ्क बन्द गर, नागरिक स्वतन्त्रता कायम गर, सय राउन्ड गोली र डेट एक्सपायर अश्रु ग्यास हान्नेलाई कारबाही गर, मृतकलाई सहिद घोषणा गर, गल्ती लुकाउने गृहमन्त्री राजीनामा दे’ लगायतका नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शन कोण सभामा परिणत भएसँगै वरिष्ठ नेता पशुपति शमशेरले भने राज्यले फरक मत र आफ्नो राय राख्न नदिएको बताए । उनले आफूहरु न्याय र उदार प्रजातन्त्रको पक्षमा रहेको पनि बताए । ‘आफ्नो राय राख्न पाइएन, आफ्नो फरक मत राख्न पाइएन, दमन भयो । त्यसको हामी घोर भर्त्सना गर्छौं । उनले भने, जुन त्यहाँ हत्या भयो, पत्रकारको समेत हत्या भयो । यो मुलुकमा न्याय र उदार प्रजातन्त्र रहनुपर्छ भनेर हामी लडेकोलड्यै गर्छौं ।