काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारीका निर्देशक कुलमान घिसिङले देशको हित र समृद्धिका लागि आफू कुनै पनि जिम्मेवारी लिन तयार रहेको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अब आफू कर्मचारी नरहेको र जिम्मेवार नागरिकको रुपमा देशको हित र समृद्धिका लागि काम गर्ने बताए ।
‘राजानीतिमा आउन लागेको हो ?’ भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘म एउटा जिम्मेवार नागरिक, अब तयाईँहरुजस्तै नागरिक भएँ, म कर्मचारी रहिनँ अब । सञ्चारकर्मीसँग प्रश्नोत्तर गर्नुअघि घिसिङले एक लामो विज्ञप्ति पढेर सुनाएका थिए ।
उक्त विज्ञप्तिमा पनि उनले घुमाउरो भाषा प्रयोग गर्दै भनेका छन् ‘मेरो प्रतिबद्धता सधैं जनताको सेवा प्रति समर्पित रहनेछ । राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ योगदान दिन म सदैव तयार छु ।’
एक जिम्मेवार नागरिक भएर, मैले मेरो वक्तव्यमा पनि लेखिसकेको छु– म सदैव देशको हितको लागि, देशको समृद्धिको लागि म कुनै पनि जिम्मेवारी लिन तयार छु भनेर मैले अघिनै भनिसकेँ,’– उनले भने ।