रुपन्देही । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीको मुद्दाको उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा भएको पेशी हेर्दाहेर्दैमा राखिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरुविरुद्धको मुद्दा उच्च अदालतमा छ । बिहीबार प्रतिवादीतर्फ रवि लामिछानेका वकिलको बहस नसकिएपछि मुद्दा शुक्रवारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
रुपन्देही जिल्ला अदालतले यो मुद्दामा रविलाई १ करोड धरौटीमा छाडेको छ भने छविलाल पुर्पक्षका लागि थुनामा पठाएको छ । सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालकसमेत रहेका पूर्वडीआइजी जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
थुनाको आदेशविरुद्ध जोशीका छोरा रोचक जोशीले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा पनि प्रारम्भिक सुनुवाइ गर्दै माघ ३० मा उच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो । यसअघि सरकारी वकिलले लामिछानेको मुद्दा पनि जोशीसँगै राखेर सुनुवाइ गर्न माग गरेपछि इजलासले लामिछानेको कैफियत प्रतिवेदन माग गरेको थियो ।
सुप्रिम सहकारीमा रवि, छवि र गितेन्द्रबाबु ९जीबी० राईसहित ४२ जनाको संलग्नतामा सहकारीको ५५ करोड बढी रकम अपचलन भएको र रवि, छवि र जीबीले मात्र छुट्टै १० करोड ९९ लाख ३६ हजार रकम अपचलन गरेको पूरक अभियोगसहितको मुद्दा जिल्ला सरकारी वकिल कार्यालयले अघि बढाएको थियो । तर जिल्ला सरकारी वकिलको कार्यालयले समान प्रकृतिको मुद्दामा रविलाई धरौटी र छविलाई थुना भएपछि रविलाई पनि थुनामै राख्नु पर्ने अपिल गर्दै उच्च अदालत पुगेको छ भने उता छविलालले पनि धरौटीमा छुट्न पाउनु पर्ने भन्दै उच्चमै निवेदन दर्ता गराएका छन् ।
सोही मुद्दामा धरौटी लिएकोमा साधारण तारेखमै मुद्दा लड्न पाउनु पर्ने भन्दै रविले पनि ७३ नम्बर दर्ता गराएका थिए । समान प्रकृतिका मुद्दामा छुट्टाछुट्टै ७३ नम्बर दर्ता भएपछि उच्च अदालत बुटवलले एकैसाथ हेर्ने आदेश दिएपछि अहिले उच्चमा यो मुद्दा अघि बढेको हो ।
उच्च अदालतको आदेशअनुसार थुनामा नराखी मुद्दा लड्नुपर्ने छविको माग, रविलाई धरौटीमा नछाडी थुनामा राख्नुपर्ने सरकारी वकिलको माग र रविको धरौटीबिना साधारण तारेखमा बस्न पाउने निवेदनसहित तीनवटै मुद्दालाई जोडेर बिहीबार एउटै पेशीमा राखिएको थियो। सोही पेशीमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । बिहीबारको पेशी उच्च अदालतका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासमा परेको थियो ।