काठमाण्डौं । राजावादीहरुको प्रदर्शनलाई तितरवितर गर्नेक्रममा प्रहरीले तीनकुने क्षेत्रमा साढे दुई सय राउन्ड गोली प्रहार गरेको स्वीकारेको छ । पदर्शन भएको ६ दिनपछि बुधबार पत्रकार सम्मेलन गर्दै प्रहरीले प्रदर्शन हिंसात्मक भएपछि नियन्त्रणका लागि गोली चलाएको स्पष्ट पारेको हो । सो क्रममा व्यक्ति लक्षित ५८ राउण्ड गोली प्रहार भएकोमा २० जनालाई लागेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले जानकारी दिए । गोली लागेर १८ पुरुष र दुई महिला घाईते भएको उनले जानकारी दिए ।
प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको तत्काल मृत्यु भएको थियो । प्रहरीको गोली लागेर रेविका खत्रीसहितका अन्य केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । स्थिति अनियन्त्रित हुन थालेपछि प्रहरीले १९२ पटक हवाई फायर गरेको डीआईजी आचार्यको भनाई छ । भीड नियन्त्रणका लागि प्रहरीले ७४६ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।
प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवनतर्फ अघि बढ्न खोजेपछि दिउँसो १२ः५० बजे पहिलो अश्रुग्यास प्रहार गरेको जानकारी दिँदै आचार्यले विमानस्थलतर्फ अघि बढेपछि दिउँसो २ः५४ बजे पहिलो गोली प्रहार गरेको बताए । रेविका, उनका दाजुसहित केही व्यक्तिलाई भने झुक्किएर गोली लागेको बताउँदै आचार्यले घाइते सबैको अवस्थाबारे जानकारी लिइरहेको बताए ।
आन्दोलनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईँकै कारण भीड उत्तेजित भएको निष्कर्षमा प्रहरी छ । प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट प्रसाईँसहित रवीन्द्र मिश्रले संसद् भवन, सिंहदरबार र विमानस्थल कब्जा गर्न माइकिङ गरेपछि प्रदर्शनकारी तोडफोडमा उत्रिएको प्रवक्ता आचार्यले बताए । राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्शेर राणासहितका व्यक्ति अहिले प्रहरी नियन्त्रणमा रहेको जानकारी दिँदै फरार रहेका प्रसाईंलाई खोज्न प्रहरीको विशेष टोली सक्रिय रहेको बताए ।