बागलुङ । चैते दसैँ सुरु भएसँगै बागलुङस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको सङ्ख्या बढेको छ। आइतबारदेखि नवरात्र सुरु भएको छ। चैते दसैँ भनेर चिनिने यो पर्वमा दुर्गा भवानीको पूजा गरिन्छ। बागलुङ कालिका मन्दिरमा विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गर्छन्।
चैतको नवरात्रमा बागलुङ कालिकाको पूजा र बलि चढाउँदा मनोकामना पूरा हुने जनविश्वास छ। गण्डकी प्रदेशको प्रमुख शक्तिपीठ मानिने यो मन्दिरमा अहिले भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।
‘चैते दसैँको तेस्रो दिनसम्म दैनिक हजारौँ भक्तजन आएका छन्, यसपटक पाँच लाखभन्दा बढी भक्तजन आउने अनुमान छ,’ खड्काले भने, ‘यो अवसरमा चैत २० गतेदेखि मेला पनि आयोजना गरिएको छ। भक्तजनको चापलाई ध्यानमा राखेर सवारी पार्किङ र सुरक्षाको व्यवस्था मिलाइएको छ।’
मेला आयोजनाका लागि ५५ लाख रुपैयाँ खर्च हुने अनुमान छ। मन्दिरमा भारतबाट पनि धार्मिक पर्यटक आउने गरेका छन्। यहाँ बोका, राँगा, कुखुराको बलि चढाउने र शान्तिको प्रतीक परेवा उडाउने चलन छ। मेलामा स्थानीय कला र संस्कृति झल्काउने झाँकी प्रदर्शनको व्यवस्था गरिएको छ। स्थानीय उत्पादन डोको, नाङ्लो, ठेका, डाला जस्ता सामग्रीको व्यापारका लागि स्टल निःशुल्क उपलब्ध गराइएको खड्काले जानकारी दिए।