काठमाडौँ । राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारले सर्वसाधारणलाई अपिल गरेको छ। मंगलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारले अपिल गरेको बताए।
गत शुक्रवार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार सरकारले गर्ने निर्णय भएको उनले बताए। ‘तीनकुने घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ‚’ उनले भने, ‘साथै यस किसिमको अराजक गतिविधिहरुमा संलग्न नहुन आम नागरिकहरुमा नेपाल सरकार हार्दिक अपिल गर्दछ।’
घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको जानकारी मन्त्री गुरुङले दिए।