काठमाण्डौं । बुधवार दिउँसो कमलादीवाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी ( नाउपा ) का संरक्षक रेशम चौधरी रिहा भएका छन् । कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको बताए । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘नक्कली पत्र’का आधारमा रेशम पक्राउ परेका थिए ।
उक्त पत्र नक्कली भएको सर्वोच्च अदालतले नै विज्ञप्तिमार्फत जानकारी दिइसकेको छ । यस्तै सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी साँझ रिहा भएका हुन् । यस्तै फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् । रेशम पक्राउ परेपछि नागरीक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजीता श्रेष्ठले सरकारबाट बाहिरिने बताएकी थिईन् । अहिले नागरीक उन्मुक्ति पार्टीवाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् ।
‘
बुधबार नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा हुने भएपछि रेशम प्रज्ञा भवन पुगेका थिए । तर, उनी एकाएक पक्राउ परेसँगै आजको एकता नै भाँडिएको छ । अब रेशम रिहा भएपछि फेरि छलफल गरेर फेरि एकताको नयाँ मिति घोषणाको अर्को मिति तय गरिने नेताहरुले बताएका छन् ।