काठमाण्डौं । सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच सिंहदरबारमा वार्ता सुरू भएको छ । शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा अहिले वार्ता जारी छ ।नेपाल शिक्षक महासंघका प्रतिनिधिहरू सरकारसँग वार्ताका लागि बुधबार दिउँसै सिंहदरबार प्रवेश गरेका थिए । सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् ।
शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् । वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा केहीबेरमा सुरु हुने वार्ता निर्णायक हुने अपेक्षा गरिएको छ। मंगलबार रातिको वार्ता सकारात्मक भएकाले महासंघले प्रस्ताव गरेको ९ बुँदे मागमा सहमति जुट्ने विश्वास व्यक्त गरिएको छ।
सत्ता गठबन्धनले पनि बुधबारै सहमति हुने दाबी गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकपछि नेकपा ( एमाले ) का उपमहासचिव प्रदीप ज्ञवालीले वार्ता सकारात्मक दिशामा अघि बढेको र बुधबारभित्र सहमति हुने बताए। उनले बिहीबारदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन सहज रूपमा सुचारु हुने विश्वास व्यक्त गरे।
शिक्षक महासंघले २० चैतदेखि काठमाडौंमा आन्दोलन जारी राख्दै वार्तालाई समानान्तर रूपमा अघि बढाउने नीति लिएको छ। यसअघि विभिन्न तहमा भएका वार्ताहरू निष्कर्षविहीन बनेका थिए। महासंघ र सरकारबीच सहमति भएमा बिहीबारदेखि शिक्षकहरू विद्यालय फर्कने र शैक्षिक वातावरण सहज हुने अपेक्षा गरिएको छ।