काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेसपा ( नयाँ शक्ति ) का अध्यक्ष डा.बाबुराम भट्टराई छिमेकी मुलुक भारत भ्रमणको क्रममा राष्ट्रिय हितको निम्ति संवाद गर्ने अवसर मिलेको बताएका छन् । आज ( मंगलबार) स्वदेश फर्किएका डा.भट्टराईले विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘हाम्रो आफ्नो पार्टीको काममा गएपनि राष्ट्रिय हितको निम्ति पनि संवाद गर्ने अवसर मिलेको छ । अवसरको सदुपयोग हामीले गर्यौं । त्यसबाट मलाई निकै प्रसन्नताको अनुभूति भएको छ ।
त्यहाँका पनि लोकतान्त्रिक मूल्य मान्यता राख्ने बहुसंख्यक भारतीय जनता, शुभेच्छुकहरु छन्, उनीहरु पनि निकै खुसी भएको हामीले मानेका छौं ।’ अध्यक्ष भट्टराईले नेपालीहरु आफ्नो भविष्य आफैं निर्धारण गर्न सक्षम रहेको बताउँदै छिमेकीसँग ठीक ढंगले सम्बन्ध राख्न सक्नुपर्ने धारणा राखे । उनले प्रतिगामी शक्तिहरुले अलिकति बितण्डा मच्चाए भन्दैमा निराश हुनुपर्ने अवस्था नरहेको र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउँदै अगाडि बढ्नु नै श्रेयस्यकर हुने बताए ।
‘हामी नेपालीहरु आफ्नो भविष्य आफैं निर्धारण गर्न सक्षम छौं । हाम्रा छिमेकीहरुसँग ठीक ढंगले सम्बन्ध राखेर हामी अगाडि बढ्यौं भने कागले कान लग्यो भन्दैमा कागको पछि डौडिनु जरुरी छैन,’– उनले भने ।