काठमाडौँ, कांग्रेस कार्यालय — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फेरि एकपटक चर्चित भनाइ दोहोर्याउँदै भनेका छन्, “कुनै डाँडामा बसेर पनि लाखौँ कमाउन सकिन्छ, त्यो सपना होइन, सम्भव छ!”
मंगलवार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित “विपन्न वर्गको उत्थान र विकाससम्बन्धी नीतिगत सुझाव प्रतिवेदन” बुझ्ने कार्यक्रममा बोल्दै थापाले आफ्नो भनाइको गहिराइ स्पष्ट गरे।
उनले भने, “मैले कीर्तिपुरको डाँडा भन्नेबित्तिकै तपाईंहरूलाई याद आयो होला — मैले भनेको थिएँ, एउटा डाँडामा बसेर २/३ लाख कमाउन सकिन्छ। कतिलाई रमाइलो लाग्यो होला, तर त्यो मेरो इमाजिनेशन हो, र त्यो सम्भव पनि हो।”
गगन थापाका अनुसार, व्यक्तिमा सीप र क्षमता भएमा स्थान विशेषले अर्थ राख्दैन, ज्ञान र डिजिटल अर्थतन्त्रको जमानामा कुनैपनि ठाउँबाट कमाइ गर्न सकिने सम्भावना खुलिसकेको छ।
थापाको उदाहरण
थापाले चीनका एक युवाको उदाहरण दिँदै भने, “त्यसले डिपसिक बनायो, सिलिकन भ्यालीले मान्यता नदिँदा पनि ऊ आज AI क्षेत्रमा च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न सक्ने ठाउँमा पुगेको छ।”
उनको भनाइ अनुसार, यो ज्ञान अर्थतन्त्रको युग हो, जहाँ स्थानभन्दा धेरै सीप, सोच र नेटवर्किङ ले काम गर्छ।
थापाले यस अवसरमा विशेषत: विपन्न समुदायको सशक्तीकरणमा जोड दिँदै भने, “हामीले त्यो वर्गलाई पछाडि पार्न हुन्न, उनीहरूलाई पनि यो सम्भावनाको जालोमा ल्याउनुपर्छ।”