काठमाडौं । बानेश्वरमा शिक्षक र प्रहरीबीचको झडपका क्रममा गम्भीर घाइते भएकी महिला सुरुवाती रूपमा शिक्षिका भनिएको थियो। भिडिओमा ‘मेरो आँखा!’ भन्दै रुवाबासी गरिरहेकी उनलाई प्रहरीले पिठ्युमा बोकेर अस्पतालतर्फ लैजाँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो।
तर पछिल्लो खुलासाले उनी शिक्षिका नभई प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की रहेको पुष्टि भएको छ। कार्की रिपोर्टिङका लागि घटनास्थलमा पुगेकी थिइन् र प्रहरी तथा प्रदर्शनकारीबीचको झडपमा परेर उनको आँखामा चोट लागेको हो।
घाइते कार्कीलाई सुरुमा बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। त्यहाँका चिकित्सकले अवस्था गम्भीर देखेर उनलाई ट्रमा सेन्टर रिफर गरे। अहिले सबिना कार्कीको उपचार तिलगंगा आँखा अस्पतालमा भइरहेको छ।
उनको आँखाको स्थितिबारे थप विवरण आइसकेको छैन।