काठमाडौं – शिक्षकहरूको आन्दोलनको कवरेज गर्दै गर्दा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी छन्। नयाँबानेश्वरमा शिक्षक र प्रहरीबीच भएको झडपको समयमा प्रहरीले प्रयोग गरेको पानीको फोहोरले उनको आँखामा चोट लागेको हो।
घटनापछि प्रहरी कर्मचारीले कार्कीलाई बोकेर नजिकैको सिभिल अस्पताल लगेका थिए। चिकित्सकले उनलाई पहिले ट्रमा सेन्टर र पछि तिलगंगा आँखा अस्पतालमा पठाएका हुन्। प्राइम टेलिभिजनका प्रसारण निर्देशक राजु भण्डारीले कार्कीको आँखाको परेलामुनि पट्टी गर्नुपर्ने अवस्था रहेको बताए। “उनको उपचार तिलगंगा अस्पतालमा जारी छ,” भण्डारीले भने।
प्रहरी प्रवक्ताले यो घटनामा प्रहरीले निषेधित क्षेत्र तोड्न खोजिएको भन्दै बल प्रयोग गर्नुपरेको बताए। तर शिक्षक महासंघका नेताहरूले उनीहरू शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेको बेलामा प्रहरीले घुसपैठ गराएर झडपको स्थिति सिर्जना गरेको आरोप लगाएका छन्।
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २६ दिनदेखि आन्दोलन जारी राखेका छन्। यसै बीच आज प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।