काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डङ्गोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको उनको परिवार स्रोतले जनाएको छ ।
विसं २००४ सालमा काठमाडौँमा जन्मिएका ७७ वर्षीय उनी कांग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुख समेत थिए । नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाएका डङ्गोल विसं २०६२र६३ को जनआन्दोलनमा काठमाडौँमा कमाण्डरका रूपमा खटिएका थिए ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भिमसेन दास प्रधानले जानकारी दिए। नेपाली कांग्रेसले डंगोलको निधनमा व्यक्तव्य जारी गरेको छ । त्यस्तै कांग्रेस सभापति शेर बहादुर देउवाले डंगोलको निधनमा दुख व्यक्त गरेका छन् ।