काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सत्य नभएको बताएकी छन् । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी समेत भएको उनले जानकारी दिइन् । थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्किएकी मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले सरकार परिवर्तनको हल्लाबारे सोधेका थिए ।
सो जिज्ञासामा उनले मनोरञ्जनका लागि हल्ला चलाइएको बताइन् । ‘तपाईंहरुले आफैं भन्नुभो हल्ला भनेर,’ उनले प्रश्नकर्ता पत्रकारलाई भनिन्, ‘अलिअलि इन्टरनेटमेन्टका लागि पनि यस्ता न्यूजहरु आउने गर्छ ।’ सरकार परिवर्तनबारे आएका समाचार हेरेर छक्क परेको उनले बताइन् ।उनले थपिन्, ‘सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्ने होला । विदेशमा गएर त यहाँको सरकार परिवर्तन हुँदैन ।’
सरकारका विषयमा विहीबार बेलुका कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुराकानी पनि भएको आरजुले जानकारी दिइन् । ‘बेलुका सभापतिज्यू र प्रधानमन्त्री ज्यूको कुराकानी पनि भाको छ, त्यस्तो केही पनि छैन,’ उनले भनिन्, ‘फोनमा कुरा भयो ।’
देउवा र आरजु सँगै बैंकक गएका थिए । उनीहरु दुवै जना आज स्वदेश फर्किएका छन् ।