काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती आज स्वदेश फर्किँदैछन्। वैशाख ७ गते थाइल्याण्ड उडेका देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा, छोरा जयवीर देउवा र बुहारी शिवाना आज स्वदेश फर्किन लागेका हुन्। देउवा उपचारका लागि थाइल्याण्ड गएका हुन् भने परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग ( एस्क्याप) को ८१ औं सम्मेलनमा सहभागी थाइल्याण्ड पुगेकी हुन्।
सरकार फेरबदलको चर्चाका बीच देउवा थाइल्याण्ड गएपछि नेपाली राजनीतिक तरंगीत बनेको छ। उनी उपचारमा गएको भन्दै प्रधानमन्त्री ओलीले स्पष्टीकरण नै दिएका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त देउवा थाइल्याण्डबाट फर्किएपछि उनै प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका छन्। संसद्को प्रमुख प्रतिपक्षी शक्ति माओवादी केन्द्रसहित सत्तारुढ कांग्रेसकै केही नेताले वर्तमान सरकार फेरबदलको चर्चा तीव्र बनाइरहेका बेला देउवा दम्पती स्वदेश फर्किन लागेका हुन्।
कतिपयले देउवा वर्तमान राजनीतिक कोर्स फेरवदलको गृहकार्यकै लागि थाइल्यान्ड गएकोसमेत अड्कल काटिरहेका छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने देउवा उपचारकै लागि विदेश गएको अभिव्यक्ति दिँदै आएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा थाइल्यान्डबाट फर्किएपछि सरकार फेरबदलको गृहकार्य सुरु हुने बताइरहेका छन्। उनले माओवादी देउवा नेतृत्वको सरकारलाई समर्थन तयार रहेको अभिव्यक्ति पनि दिँदै आएका छन्।