काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हालै हटाइएका कुलमान घिसिङको पक्षमा वकालत गरेको र ऊर्जा सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधिएको विषयमा तामाङसँग प्रधानमन्त्री ओली रुष्ट थिए । घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउन सरकारले प्रक्रिया अघि बढाइरहँदा तामाङले फरक मत राख्दै आएका थिए । घिसिङकै विषयलाई लिएर ऊर्जामन्त्री दीपक खड्कासँग तामाङको तिक्तता बढेको थियो । खड्काले राज्यमन्त्रीलाई हटाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक–पटक आग्रह समेत गर्दै आएका थिए । तर उनको आग्रहको सुनुवाई भने भएको थिएन ।
गत २८ चैतमा तामाङले आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भनी मन्त्रालयका सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । राज्यमन्त्री प्रमुख अतिथि रहेको जलस्रोत तथा सिँचाइ विभागको कार्यक्रममा उद्घोषकले आसनग्रहण गर्न बोलाउँदा सचिव आचार्य मञ्चमा नगई कार्यक्रम स्थलबाट बाहिरिएका थिए । ऊर्जा राज्यमन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ सचिव आचार्यले बुझाएका छैनन् । त्यसपछि प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न बोलाएको बैठकमा समेत तामाङले मत बझाएका थिए । प्रधानमन्त्रीले ३ करोडभन्दा कम रकमका आयोजनामा बजेट विनियोजन गर्न नपाइने उल्लेख गरेपछि तामाङले आफ्नो गृहजिल्ला रामेछापमा २० लाख रुपैयाँसम्मका आयोजना पनि आवश्यक रहेको बताएका थिए ।
ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्रीसँग भेटेर माफी माग्न तामाङलाई आग्रह गरिएको थियो । तर उनले आफ्नो गल्ती नभएको जनाउँदै माफी नमाग्ने जवाफ फर्काएका थिए । बर्खास्तको निर्णय लिनुअघि प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकमार्फत राजीनामा समेत मागेको तामाङले बताए । त्यसरी नै केही दिन अघि परराष्ट्रमन्त्री आरजु राणा देउवाले समेत आफुलाई राजीनामा दिन आग्रह गरेको ऊर्जा राज्यमनत्री तामाङ्गले बताएका छन् । उनले आफुले किन राजीनामा दिने भनेर जवाफ फर्काएको बताए ।
बर्खास्तपछि उनले भने, ‘एक घण्टाअघि ९बुधबार साँझ ५ बजे० गृहमन्त्रीज्यूले फोन गरेर राजीनामा माग्नुभयो । मलाई पार्टीले पठाएको हो, पार्टीले फिर्ता बोलाउनुपर्छ, राजीनामा दिन्नँ भनेको थिएँ । त्यसपछि बर्खास्त गरियो ।’ आफूलाई पदमुक्त गरिएको विषयमा पार्टीभित्र छलफल हुने र पार्टीले निर्णय लिने उनले बताए ।