बुटवल । भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव नेपाल ल्याइएको छ । मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका सुदिपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै ल्याइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए ।
‘आज ( बिहीबार ) बिहान सात बजे सुदिपको डेथ बडी बेलहिया नाका हुदै घरसम्म ल्याई पुर्याईएको छ । २७ वर्षीय सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउ खेल्ने र घुम्ने उद्देश्यले त्यसतर्फ प्रस्थान गरेका थिए । त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए ।
काश्मिरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
साथै सो आतङ्ककारी हमलामा परेर घाइते…
— Dr. Arzu Rana Deuba (@Arzuranadeuba) April 23, 2025
सुदिपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए । भाग्ने क्रममा रिमाकला सामान्य घाइते समेत भएकी थिइन् । सुदिपको शवसँगै आमा र बहिनी ज्वाइँ पनि रुपन्देही आएका छन् । उक्त आतंकवादी घटनामा कम्तिमा २६ जना मारिएका छन्, तीमध्ये दुई जना विदेशी नागरिक थिए । बुटवल उपमहानगरपालिका( १४ का वडाध्यक्षसमेत रहेका सुदिपका काका दधिराम न्यौपानेले सुदीपको शव बेलहियाबाट बुटवल(११ मनकामनापथस्थित आफ्नै घरमा लैजाने बताए ।
आमाबुवाको सम्बन्ध विच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडानम्बर ४ हो ।